Breaking News

असल अभिभावक कसरी बन्ने ?

 

अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, 'तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग स्तर नै मिल्दैन । त्यसैले भोलिदेखि विद्यालय नपठाउनू ।' आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, 'बाबु, विद्यालयले भनेको छ, तिम्रो पढाइको स्तर अरू विद्यार्थीभन्दा उच्च छ, विद्यालयले तिम्रो स्तरलाई पढाउन सक्दैन रे, त्यसैले तिमी भोलिदेखि घरमै बसेर अध्ययन गर्नू ।' आइन्स्टाइनले विश्वास गर्नुभयो र घरमै अध्ययन गर्न थाल्नुभयो । उनै आइन्स्टाइनलाई आज हामी भौतिकशास्त्रका वैज्ञानिक भनेर चिन्छौं, जसले क्वान्टम थ्योरी पत्ता लगाएर विश्वलाई ठूलो योगदान पुर्‌याएका छन् ।

बालबालिकाहरुप्रति अभिभावकको भूमिका

भनिन्छ–“घर बालकको पहिलो पाठशाला हो ।” किनकि परिवारले उसलाई हुर्कने, बढ्ने, बोल्ने, अन्तरक्रिया गर्ने, मायाममता पाउने, बानी व्यावहारहरु सिक्ने, व्यक्तिगत आवश्यकताहरु पूरा गर्नेजस्ता मानव जीवनका लागि अपरिहार्य अवसर प्राप्त गर्दछ । परिवारमा भएका आपसी व्यवहार र सम्बन्धले बालविकासमा प्रभाव पार्दछ । अभिभावकका असीमित दायित्व छन् । आफ्ना नातिनातिनी, छोराछोरी, भाइबहिनीका लागि हजुरबुबा– हजुरआमा, बाबु–आमा, दाजु–दिदी, सबै अभिभावक हुन् । बालविकासका सन्दर्भमा अभिभावकसँग जोडिएका पक्षहरुको बारेमा संक्षिप्तमा चर्चा गरौं ।

असल अभिभावक कसरी बन्ने ?

१. मनोविज्ञान बुझ्ने

हरेक बालबालिकाको मनोविज्ञान र क्षमता अनि रुचि फरक–फरक हुन्छन् । सबै अभिभावक र विद्यालयको चाहना उस्तै हुन्छ । सबैले बराबर उच्च अंक प्राप्त गरून्, जुन असम्भव प्रायः हुन्छ । बालबालिकाको उमेरका कारण शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवं मनोविज्ञान विल्कुल फरक तरिकाको हुन्छ । यो उमेरमा हुने शारीरिक र मानसिक परिवर्तनले उनीहरूको ध्यान अध्ययनमा मात्र नजाने, मनमा अनेक सोचाइ आउने हुनसक्छ । त्यसैले यसमा अभिभावकको सकारात्मक सोचाइ र आफ्नो तर्फबाट सहजता ल्याउन सक्दो प्रयास गर्नुपर्छ ।

“विद्यार्थीलाई उच्चस्तरको शिक्षा प्रदान गर्नका निम्ति सबैभन्दा अत्यावश्यक तत्वहरूमा अभिभावकको सहभागिता र अभिभावकसँगको सहकार्य एउटा हो ।”

२. घरको वातावारण शान्त र सहज बनाउने

घरको वातावरण शान्त, प्रेमपूर्ण, सहज हुनुपर्दछ, ताकि परिवारका सदस्यबीच जुनसुकै कुरा अभिव्यक्त गर्न सकिने वातावारण होस् । घरमा परिवारबीच मनमुटाव भइराख्छ भने छोराछोरीले पढाइमा ध्यान दिन सक्दैनन् । आमाबाबाबीचको टकराव, मनमुटाव र झगडाले उनीहरूलाई असर गरिरहेको हुन्छ । छोराछोरीप्रति जुन अपेक्षा राखिएको छ, त्यो पूरा भएको देख्न उनीहरूका सबै कुरा बुझेर आफ्नो व्यवहार सकारात्मक बनाउनुपर्दछ ।

३. आवश्यक निगरानी राख्ने

हामी वास्तविक चासो मात्र राख्छौं, छोराछोरीप्रति कि अनावश्यक दबाब दिने काम गर्दछौं ? नियमितरूपमा छोराछोरीलाई पनि समय दिने, विद्यालयसँग छोराछोरीको विषयमा बुझ्ने र कमजोरी पक्ष सुधार्ने काम गरेका छौं कि नतिजा अपेक्षाअनुसार नआउँदा मात्र विद्यालयलाई दोष दिने र छोराछोरीलाई हप्काउने गरेका छौं ? किनकि छोराछोरीलाई अभिभावकको प्रशस्त समय र निगरानी आवश्यक पर्दछ । अनि उनीहरूलाई हौसला पनि त्यत्तिकै जरुरी हुन्छ । अभिभावकले छोराछोरीको सिर्जनात्मक क्षमताको पनि तारिफ पनि गर्नुपर्छ । छोराछोरीको साथीसंगत र विद्यालयले दिने शैक्षिक वातावरण पनि कस्तो छ भनेर बेलैमा ध्यान दिने गर्नुपर्छ । आफ्ना छोराछोरीले राम्रो अंक ल्याउँदा विद्यालय राम्रो भन्ने र आफ्ना छोराछोरीले राम्रो अंक ल्याउन नसक्दा विद्यालयलाई दोष दिने काम राम्रो होइन । आफ्ना छोराछोरीको मनोविज्ञान नबुझी अरूका छोराछोरी र उनीहरूका साथीसँग तुलना गर्ने र नजानिँदो तरिकाले आफ्नै छोराछोरी हेप्ने काम गर्नु हुँदैन । किताबी शिक्षा मात्र शिक्षा होइन, नैतिक शिक्षामा हामीले ख्याल राख्नुपर्छ ।



३. मायालु व्यवहार गर्ने

छोराछोरीसँग साथीजस्तो व्यवहार गर्नुपर्छ, किनकि प्रेमले नै संसार जित्छ । उनीहरूका कुरा सुन्ने र उनीहरूका भावना बुझ्ने अभिभावकको प्रमुख काम हो । जसले गर्दा बेलैमा आफ्ना छोराछोरीको अवस्था, रुचि, क्षमता र बानीबारे जान्न सकिन्छ । उनीहरूलाई समय नदिने, भावना नबुझ्ने अनि गल्ती गरिसकेपछि पिट्ने, हप्काउने र सजाय दिने असल अभिभावकको गुण होइन ।

४. छोराछोरीलाई समय दिने

आजभोलिका अभिभावक सबै नै व्यस्त छन् र पनि प्रत्येक दिन केहप् समय छुट्याएर छोराछोरीसँग विद्यालयको बारेमा बुझ्ने, साथीहरूका बारेमा बुझ्ने र गृहकार्य के कति छ आफूले सहयोग गर्न सकिन्छ कि सोध्ने गर्नुपर्दछ । जहिले पनि आफू व्यस्त भएकोले बताउने कुरा केटाकेटीलाई मन पर्दैन ।

५.आहार, आचार र विचारमा ध्यान दिने

हाम्रो स्वभाव कस्तो छ, हामी कस्तो व्यवहार गर्छौं भन्ने कुरा हाम्रो आहार, आचार र विचारले निर्धारण गर्दछ । हामीजस्तो खाना खान्छौं, त्यस्तै विचार उत्पन्न हुन्छ, तिनै विचारको परिणाम हाम्रो स्वभाव बन्छ । विचारले स्वभाव निर्धारण गर्दछ र त्यसैअनुसारको व्यवहार अभिभावकले छोराछोरीसँग र छोराछोरीले अभिभावकसँग प्रस्तुत गर्छन् । त्यस्तै साथीहरूसँग रिसाउने, झर्कने, कसैले भनेको कुरा स्वीकार गर्न नसक्ने, शिक्षकसँग मुखमुखै लाग्ने, तुरुन्तै जवाफ फर्काउने स्वभाव पनि विचारका परिणाम हुन् । छोराछोरीले पहिलो संस्कार अभिभावकबाटै सिकेका हुन्छन् । त्यसैले उचित खानपान, योग, ध्यान र अनुशासन छोराछोरी र अभिभावक दुवैमा जरुरी छ । उनीहरूको लवाइ, खुवाइ, बोल्ने भाषा, चालचलन र अनुशासन घरको व्यवहारले प्रभाव पर्ने हुँदा घरबाट यी कुरा ख्याल गरिनुपर्दछ ।

६.प्रेरणा र हौसला

कलिलो मस्तिष्कमा स–साना गल्ती र समस्याले पनि ठूलो समस्या पैदा गरिदिन्छ । त्यसैले यस्तो बेलामा अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ । विद्यार्थीहरू नयाँ कुरा सिक्न जतिधेरै उत्सुक र जागरूक हुन्छन्, उत्तिकै समस्या आइपर्छन् । यस्ता समस्यामा पनि अभिभावकहरूले उत्प्रेरणा एवं उत्साह जगाइदिनुपर्छ ।

७.पढ्ने वातावरणको व्यवस्था

विद्यार्थीका लागि पढ्ने वातावरणको व्यवस्था गरिदिनु अभिभावकको प्रमुख दायित्व हो । विद्यालयमा भर्ना गरिदिँदैमा अरू बाँकी सबै काम विद्यार्थीकै हो भनेर बस्नु हुँदैन। विद्यार्थीका आवश्यकता अभिभावकले पूरा गरिदिनुपर्छ । त्यसका साथै विद्यालयमा साथीहरूसँगको व्यवहार गर्दा आवश्यक पर्ने खर्चको जोहोसमेत समयमै गरिदिनुपर्छ । अन्यथा विद्यार्थीहरूलाई उसका साथीहरूमाझ हीनताबोध हुनसक्छ र पढाइप्रति ध्यान नजान सक्छ ।

८.स्वास्थ्यमा ध्यान

स्वस्थ शरीरले नै जाँगर उत्पन्न गराउँछ । राम्रो नतिजाका लागि विद्यार्थीको स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्छ । विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासक्रम एवं स्वास्थमा नियमित ध्यान पु¥याउनुपर्छ ।

No comments